रौतहटको गौरमा अज्ञात समूहद्वारा गोली प्रहार, एक युवक गम्भीर घाइते
रौतहट, मङ्गलवार — रौतहटको सदरमुकाम गौर नगरपालिका–४ गढवास्थित पानी ट्याङ्की नजिक अज्ञात व्यक्तिले गरेको गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्।
मङ्गलवार राति करिब ९:१५ बजे स्थानीय रामविलास यादवका छोरा राकेश कुमार यादवमाथि अज्ञात समूहले पाँच राउन्ड गोली प्रहार गरेको हो।
घटनालगत्तै घाइते यादवलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल पुर्याइएको थियो। प्रहरीका अनुसार उनको पिठ्युँमा दुईवटा र हातमा एउटा गरी तीनवटा गोली लागेको पुष्टि भएको छ। हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर रहे पनि उनी बोल्न सक्ने अवस्थामा रहेको अस्पताल तथा प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्ति वा समूहको अहिलेसम्म कुनै पनि पहिचान खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय रौतहटने घटनाको गम्भीरताका साथ अनुसन्धान थालेको र दोषीहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ।




