डेढ करोड बैंकिङ कसुर मुद्दाका फरार आरोपी सुविन बैदार पक्राउ
१९ कात्तिक २०८३ · 👁 103 पटक पढिएको
काठमाडौं। बैंकिङ कसुर मुद्दामा एक करोड ५१ लाख जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले काभ्रेपलाञ्चोक बनेपा नगरपालिकाका ४० वर्षीय सुविन बैदारलाई पक्राउ गरेको हो।
ब्यूरोका सहप्रवक्ता योगेन्द्रकुमार खड्काका अनुसार काठमाडौँ जिल्ला अदालतले गत असार ३२ गते बैदारलाई बैंकिङ कसुर मुद्दामा सजाय सुनाएको थियो। अदालतको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो।
अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहेका बैदार काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा लुकीछिपी बस्दै आएको गोप्य सूचनाका आधारमा प्रहरीले खोजी गरी पक्राउ गरेको ब्यूरोले जनाएको छ।
पक्राउ परेका बैदारलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्यूरोले जनाएको छ।




