काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’
बिरगंज । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँ लेनदेन भएको भन्ने समाचार सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले त्यसको हिसाब मागेका छन्। उनले नयाँ राजनीतिक शक्तिको आवरणमा सुशासन र इमानदारीको दाबी गर्दैमा कोही इमानदार नहुने टिप्पणी गरेका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सिंहले गगनकुमार थापालाई लक्षित गरी सञ्चारमाध्यममा आएका समाचारमाथि प्रश्न उठाएका हुन्। उनले नाम उल्लेख नगरे पनि उनको टिप्पणी थापाप्रति लक्षित देखिन्छ।
सिंहले सुशासन, पारदर्शिता र स्वतन्त्र न्यायपालिकाको वकालत गर्ने राजनीतिक नेतृत्वसँग जोडिएर १८ करोड रुपैयाँको लेनदेनमार्फत आधिकारिकता प्राप्त गरेको भन्ने गम्भीर समाचार सार्वजनिक भएको उल्लेख गरेका छन्।
‘यो विषय सत्य हो भने जनताले गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ,’ उनले लेखेका छन्, ‘आफू सभापति बन्नकै लागि न्याय र न्यायिक प्रक्रियामाथि पैसाको प्रभाव पार्न खोज्ने व्यक्ति सत्तामा पुगेपछि के गर्ला ?’
उनले नयाँ राजनीतिक शक्तिको पहिचान र इमानदारीलाई एउटै रूपमा बुझ्न नहुने तर्कसमेत गरेका छन्। ‘मैले पहिले नै भन्दै आएको थिएँ– २.० को खोल ओढ्दैमा कोही इमानदार हुँदैन,’ सिंहले भनेका छन्।
सुशासनको नारा लगाएर जनतालाई भ्रममा पार्ने तर पर्दापछाडि शक्ति, पैसा र बिचौलियाको खेल खेल्ने प्रवृत्तिबाट देशको भविष्य सुरक्षित हुन नसक्ने उनको टिप्पणी छ।
सिंहले सार्वजनिक भएका समाचारको सत्यतथ्य स्पष्ट पार्न सम्बन्धित पक्षलाई चुनौतीसमेत दिएका छन्। समाचारमा उल्लेखित विषय सत्य भए दोषीमाथि कानुनअनुसार कठोर कारबाही हुनुपर्ने र असत्य भए प्रमाणसहित जनतालाई स्पष्ट पार्नुपर्ने उनको माग छ।
‘जनतालाई अब भाषण होइन, हिसाब चाहिएको छ,’ उनले लेखेका छन्।
नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा गगनकुमार थापाले न्यायालयमा प्रभाव पार्न बिचौलिया इनम सापकोटामार्फत १८ करोड रुपैयाँको कारोबार गरेको तथा न्यायाधीश सारङ्गा सुवेदीलाई तीन करोड रुपैयाँ दिएको भन्ने दाबी समेटिएका समाचार सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ ।




