रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त
रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त
वीरगन्ज, पर्सा —
राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्ष पदमा रुपल जैसवार नियुक्त हुनुभएको छ। संगठनको केन्द्रीय तथा प्रादेशिक निर्णयअनुसार जैसवारलाई पर्सा जिल्लाको नेतृत्वको जिम्मेवारी प्रदान गरिएको हो।
उहाँको यो नियुक्तिसँगै राष्ट्रिय बजरंग दल, मधेश प्रदेशका पदाधिकारीहरूले उहाँलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै बधाई ज्ञापन गरेका छन्।
राष्ट्रिय बजरंग दल, मधेश प्रदेशका प्रदेश महामन्त्री श्याम रौनियार र सहमहामन्त्री शंकर यादवले एक संयुक्त विज्ञप्ति जारी गर्दै जैसवारको संगठनप्रतिको लामो योगदान, सक्रियता, नेतृत्व क्षमता र समर्पणभावको उच्च प्रशंसा गर्नुभएको छ।
नवनियुक्त जिल्ला अध्यक्ष जैसवारले आगामी दिनमा संगठनको नीति, विधान, अनुशासन र मर्यादालाई पूर्ण रूपमा आत्मसात् गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी ढङ्गले निर्वाह गर्ने विश्वास प्रदेश नेतृत्वले व्यक्त गरेको छ। साथै, हिन्दुत्वको संरक्षण, सनातन धर्मको संवर्द्धन तथा पर्सा जिल्लामा संगठनको प्रभावकारी विस्तारका लागि जैसवारले अग्रगामी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रदेश महामन्त्री रौनियार र सहमहामन्त्री यादवले नयाँ जिम्मेवारीले जैसवारको कार्यक्षमता र सामाजिक सेवाप्रतिको समर्पणलाई थप उचाइमा पुर्याउने बताउँदै संगठनको एकता, प्रतिष्ठा र उद्देश्य प्राप्तिका लागि उहाँको कार्यकाल सफल, उपलब्धिमूलक तथा प्रेरणादायी हुने कामना गर्नुभएको छ।
रुपल जैसवारको यो नियुक्तिलाई पर्सा जिल्लामा संगठनका गतिविधिलाई तीव्र पार्ने, कार्यकर्ताबीचको एकता र समन्वयलाई सुदृढ बनाउने तथा हिन्दुवादी एजेन्डालाई अझ प्रभावकारी रूपमा अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।




