अमेरिकामा आज मध्यावधि निर्वाचन, मत सर्वेक्षणमा डेमोक्रयाटले जित्ने संकेत
काठमाडौं। अमेरिकामा आज (नोभेम्बर ३ तारिख) संसद्को मध्यावधि निर्वाचन हुँदै छ। नेपाली समयअनुसार अपराह्न साढे ४ बजेतिर मतदान सुरु हुनेछ। अमेरिकी राष्ट्रपति चुनावको ठिक दुई वर्षपछि हुने यस मध्यावधि निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन 'हाउस अफ रिप्रेजेन्टेटिभ्स' (प्रतिनिधिसभा) का सबै ४३५ सिट र माथिल्लो सदन 'सिनेट' का ३५ सिटका लागि मतदान हुन गइरहेको छ।
हाल संसद्का दुवै सदनमा सत्तारुढ रिपब्लिकन पार्टीको वर्चस्व रहेको छ। सिनेटमा कुल १०० सिटमध्ये बहुमतका लागि ५१ सिट आवश्यक पर्छ भने तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक हुन्छ। यसपालिको निर्वाचनमा महँगी मुख्य मुद्दा बनेको छ भने राष्ट्रपति ट्रम्पले किसानहरूको मत आफ्नो पक्षमा पार्न १५ अर्ब डलरको राहत प्याकेजसमेत घोषणा गरेका छन्।
मत सर्वेक्षणका प्रारम्भिक नतिजा र विश्लेषणहरूले विपक्षी डेमोक्र्याट पार्टीले संसद्मा आफ्नो पकड बलियो बनाउने वा जित्ने संकेत गरेका छन्। यदि सत्तारुढ दलले कुनै एक सदनमा मात्रै बहुमत गुमाएमा आगामी दिनमा नीति तथा कानुन पारित गर्न ठूलो चुनौती सामना गर्नुपर्ने हुन्छ।




