बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?
बहाना अनेक, गन्तव्य दिल्ली: रास्वपा नेताहरूको गुप्त दौडाहामा के पाक्दैछ खिचडी?
बिरगंज— सत्तारुढ घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरूको पछिल्लो समय निरन्तरजसो भइरहेको भारत (दिल्ली) प्रस्थानले मुलुकको राजनीतिक र कूटनीतिक वृत्तमा नयाँ बहस र चासो पैदा गरेको छ। तर, नयाँ दिल्ली प्रस्थान गर्ने नेताहरूको भ्रमणको कारण र बहाना भने एउटै देखिँदैन। पार्टी भित्र र बाहिर विभिन्न अडकलबाजी र टिप्पणी भइरहँदा दिल्ली पुग्ने रास्वपाका फरक-फरक नेताहरूले आफ्नै किसिमका तर्क र स्पष्टीकरण प्रस्तुत गरिरहेका छन्।
नेताहरूको भ्रमण सूची र बहाना हेर्दा, शीर्ष नेतृत्वले उत्तराखण्डस्थित प्रसिद्ध कैँची धाम र आसामको कामाख्या देवीको दर्शनलाई देखाउँदै पारिवारिक तथा धार्मिक तीर्थाटनको आवरण दिएका छन्। अर्कोतिर, केही प्रभावशाली नेताहरूले द्विपक्षीय व्यापार, सीमापार आर्थिक सहकार्य र लगानी प्रवर्द्धनका एजेन्डा बोकेर दिल्ली दौडाहामा निस्किएको दाबी गरिरहेका छन्।
त्यसैगरी, नीतिगत अध्ययन तथा अन्तर्राष्ट्रिय थिङ्क-ट्याङ्कहरूले आयोजना गरेका क्षेत्रीय विचार गोष्ठी र द्विपक्षीय भेटघाटको निमन्त्रणामा सहभागी हुन भन्दै उपसभापति तहका नेताहरू दिल्ली पुगेका खबरहरू पनि सार्वजनिक भइरहेका छन्। यता, केही नेताहरूको भ्रमण भने यति सुटुक्क र अपारदर्शी बन्यो कि उनीहरू साँच्चै दिल्ली गएका हुन् वा होइनन् भन्ने विषयमा स्वयं पार्टीभित्रै आन्तरिक विवाद र अस्पष्टता कायमै रह्यो।
राजनीतिक विश्लेषकहरू भने सत्ता साझेदार दलका प्रभावशाली नेताहरू एकपछि अर्को गर्दै फरक-फरक आवरण र बहानामा दिल्ली धाउनुलाई सामान्य पारिवारिक वा औपचारिक भ्रमण मान्न तयार छैनन्।
भारतीय संस्थापन पक्षसँगको सम्बन्ध सुधार, शक्ति सन्तुलन, र सम्भावित नयाँ राजनीतिक समीकरणको तानाबाना मिलाउन यो ‘दिल्ली दौड’ भइरहेको धेरैको आँकलन छ। रास्वपा नेताहरूले यसलाई "विशुद्ध व्यक्तिगत वा गैर-राजनीतिक" यात्रा भनेर पन्छाउन खोजे पनि, भ्रमणको यो लगातारको शृङ्खलाले सत्ता राजनीतिमा फेरि कुनै नयाँ कूटनीतिक ‘खिचडी’ पाक्दै त छैन भन्ने आशङ्का र चासोलाई झनै बढािदिएको छ।




