आईजीपी पुनर्रबहालीको माग गर्दै पूर्वआईजीपी दानबहादुर कार्की सर्वोच्च अदालत जाने तयारीमा
काठमाडौँ ।
नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध पुनर्रबहालीको माग गर्दै आज सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन्।
सरकारले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने र एआईजी डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेपछि कार्कीले कानुनी उपचार खोज्ने निर्णय गरेका हुन्।
यस विषयमा कार्कीले बुधबार दिउँसो वरिष्ठ कानुन व्यवसायीहरूसँग छलफल तथा परामर्श गरेका थिए। छलफलका क्रममा कानुन व्यवसायीहरूले सरकारको निर्णय गैरकानुनी र क्षेत्राधिकारविपरीत रहेको भन्दै अदालत जान सुझाव दिएका छन्।
कार्कीनिकट एक कानुन व्यवसायीका अनुसार बुधबार कागजात तयारी तथा समय अभावका कारण रिट दर्ता गर्न नसकिएकाले आज (बिहीबार) बिहानै आवश्यक तयारी पूरा गरी सर्वोच्च अदालतमा रिट दायर गर्न लागिएको हो।
रिट निवेदनमा सरकारको निर्णय बदर गरी आफूलाई प्रहरी महानिरीक्षक पदमै पुनर्रबहाली गर्न र अन्तरिम आदेश जारी गर्न माग गरिने जनाइएको छ




