धनुषामा रहस्यमय घटना: श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय बालकसमेत घाइते
जनकपुरधाम: धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा एकै परिवारका श्रीमान्–श्रीमती मृत अवस्थामा फेला परेका छन्। घटनाले स्थानीय क्षेत्रमा त्राहिमाम र सनसनी फैलाएको छ।
प्रहरीका अनुसार माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी यादवको घाँटीमा धारिलो हतियार प्रहार गरिएको गहिरो घाउ छ। उनको घटनास्थलमै हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ। त्यस्तै, मृत फेला पर्नेमा उनका श्रीमान् ३५ वर्षीय उमेश यादव रहेका छन्, जो घरभन्दा करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
छोरा पनि घाइते अवस्थामा फेला
घटनास्थलमा मृतक दम्पतीका ४ वर्षीय छोरा सम्राट यादव पनि घाइते अवस्थामा फेला परेका छन्। बालकको दाहिने तिघ्रामा धारिलो हतियार प्रहारबाट चोट लागेको प्रहरीले जनाएको छ। घाइते बालकको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।
वैदेशिक रोजगारीबाटर् फर्किएका थिए उमेश
प्रहरीका अनुसार मिथिला बिहारी नगरपालिका–४ भरतपुर निवासी उमेश केही दिन अघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली गएको खुल्न आएको छ।
प्रहरी अनुसन्धान सुरु
घटनाको प्रकृति अत्यन्तै शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिएका छन्। प्रहरीले घटनास्थलबाट रगत लागेको चक्कुसमेत बरामद गरेको छ।
प्रारम्भिक अनुसन्धानपछि श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिए पनि वास्तविक कारण र मृत्युको यथार्थ परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रीनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ।




