रास्वपामा विधि र प्रक्रियाबाटै मात्र चुनावी टिकट वितरण हुन्छ: सांसद हरि पन्त
रास्वपामा विधि र प्रक्रियाबाटै मात्र चुनावी टिकट वितरण हुन्छ: सांसद हरि पन्त
द हाइलाइट्स नेपाल, वीरगञ्ज।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवम् प्रतिनिधि सभा सदस्य हरि पन्तले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको विधि र प्रक्रियासम्मत तरिकाले मात्र उम्मेदवारलाई टिकट वितरण गरिने स्पष्ट पार्नुभएको छ।
शुक्रबार राति स्थानीय क्लासिक ब्यान्क्वेटमा आयोजित बडा दशैँको शुभकामना तथा टीका कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पन्तले कुनै पनि नेता, जिल्ला/प्रदेश सभापति वा सांसदको नातेदार वा नजिक भएकै भरमा टिकट नपाइने बताउनुभयो। उहाँले पार्टीको "हामी आउँदैछौँ" अभियानअन्तर्गत उम्मेदवार क्लब, पोलिटिकल प्रोक्सिमिटी, प्रारम्भिक निर्वाचन र समावेशिताको अवधारणा बमोजिम प्रशिक्षित, परीक्षण गरिएका र योग्य व्यक्तिले मात्र आधिकारिक टिकट पाउने आश्वासन दिनुभयो।
जिल्ला संगठन विभाग प्रमुख कृष्ण पासवानले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा जिल्लाका तुलसा पौडेल, सुदिश प्रजापति, परवेज अख्तरलगायत क्षेत्रीय, पालिका तथा वडा स्तरका नेता-कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।




